यौन आवेग नथाम्दा चारको हत्या
दुई महिनाअघि यौन सम्बन्ध राख्न नमान्दा ६ तलाबाट खसालेर भेनिसा लिम्बूको राजधानीमा हत्या भयो । मदिरामा मातिएका एक युवकले यौन प्यास मेट्न नपाउँदा घाइते भेनिसाको गाडीमै घुमाएर कायरतापूर्वक हत्या गरेको घटनाले धेरैले आश्चर्य माने ।
यौनको आवेगमा मान्छेले कतिसम्म गर्न सक्छ ? यही साता सल्यानको अर्को एउटा घटनाले धेरैलाई स्तब्ध बनाएको छ । सल्यानको छायाक्षेत्र गाविसका २० वर्षीय एक युवकले यौन आवेगमा चारजनाको हत्या गरे भने एक महिलाको हत्या प्रयास गरे ।
स्थानीय २० वर्षीय सञ्जय भारतीले यौन उत्तेजनामा २३ वर्षीया आफ्नै छिमेककी सीता खाँण, उनका साढे दुई वर्षीया छोरी पवित्रा खाँण, ११ महिनाकी सविता खाँण र सीताकी बहिनी १७ वर्षीया गीता गिरीको हत्या गरेका हुन् । चारजनाको हत्या गर्दा पनि उनको आवेग शान्त भएन, त्यसैले नजिकै बस्ने ६० वर्षीया जुठ्ठी अधिकारीसँग समेत जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गरे ।
तर, त्यो प्रयास पनि असफल भएपछि उनलाई टाउकोमा लौराले हानेर हिँडेका थिए ।
यो घटनाले सल्यानमा मात्र होइन, देशमै सनसनी मच्चाएको छ । अनुसन्धान गर्ने प्रहरी अधिकारी पनि चकित छन् ।
अनुसन्धान सुरु गरेको केही घन्टामै नै प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भयो । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार पक्राउ परेका भारती 'यौन पिपासु' हुन्, यौन चाहनालाई नियन्त्रण गर्न नसक्दा नै उनले अरूको क्रूर तरिकाले ज्यान लिए । हत्याको दोस्रो कारण मदिरा थियो । धेरै मदिरा पिएपछि उनलाई यौन चाहना भयो, नजिकै महिला बस्ने घरमा गएर उनले आफ्नो चाहना मेट्न चाहेका थिए । तर, सफल नभएपछि उनले किलाले हानेर चारजनाको हत्या गरे । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी श्याम खत्री भन्छन्, 'घटनाको प्रमुख कारण नै यौन चाहना देखिन्छ ।'
०००
गत मंगलबार बेलुका ती युवाले गाउँका महिलासँग यौन सम्बन्ध राख्ने पहिले नै योजना बनाएका थिए । राति घरबाट निस्कँदा बाबु र सानिमाले थाहा पाउने भएकाले उनी सिरक डस्ना बोकेर बाहिर सुत्ने भन्दै निस्किए । बेलुका करिब नौ बजे उनी घरबाट निस्किएका थिए ।
सुरुमा नै उनी सीता खाँणको घरमा पुगे । सीताले ढोका खोलिन् । गफ गर्ने क्रममा उनीहरूबीच झगडा भयो । सीताले जाँड खाएको भन्दै उनलाई गाली गरिन् । उनले अश्लील कुरा गर्न थालेपछि पोइला गएको मान्छेको छोरो पनि त्यस्तै भएको भन्दै गाली गरिन् । आमा पोइला गएको कुरा गरेपछि उनी रिसाएर निस्किए । केही मिनेटपछि नै किलो उखेलेर गई पालैपालो टाउकोमा हानेर हत्या गरे । सुतिरहेका बच्चालाई पनि उनले छाडेनन् । घरमा रहेका चारैजनाको क्रूर हत्या गरे । सीताका श्रीमान् वैदेशिक रोजगारीका क्रममा भारतमा बस्दै आएका छन् ।
१७ वर्षीया गीतालाई त उनले बलात्कार गर्ने प्रयास गरे । किलोले हानेर लडाएपछि उनले कपडा खोलेर बलात्कार गर्ने प्रयास गरेका थिए ।
तर, उत्तेजना कम भएकाले सम्बन्ध राख्न नसकेको बयान उनले प्रहरीलाई दिएका छन् ।
चारजनाको हत्या गरेपछि उनले दुई सय मिटरमाथि रहेको एक घरको आँगनमा रहेका अरू किला पनि उखेल्ने प्रयास गरे । तर उखेल्न सकेनन् । ती किलामा रगत नै रगत लागेको थियो । नजिकै एक छाप्रोजस्तो घरमा ६० वर्षीया जुठ्ठीकुमारी बस्थिन् । मानसिक अवस्था ठीक नभएकी उनी एक्लै बस्थिन् । उनै अधिकारीसँग उनले यौनप्यास मेट्न खोजे । तर, अधिकारीले प्रतिकार गरिन् । अधिकारीलाई पनि टाउकोमा लौराले हानेर उनी बारीमा गई सुतेका थिए ।
राति नै उनले रगत लागेका सबै कपडा शौचालयमा लगेर लुकाए । कसैले लुगा देखे पक्राउ पर्ने डरले उनले बिहानै कपडा धोएर सुकाएका थिए ।
बिहानै प्रहरी घटनास्थलमा पुगिसकेको थियो । उनी पनि अरू गाउँलेजस्तै सामान्य ढंगले घटनास्थलमा गए ।
प्रहरीले उनलाई सोधपुछ गर्दा साधारण तरिकाले आफूलाई घटनाबारे बिहान मात्र थाहा भएको बताए । करिब १० घन्टाको निरन्तर सोधपुछपछि मात्र उनी गले र अपराध स्वीकार गरे । नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले खबर लेखेका छन् ।


0 comments
Write Down Your Responses