प्रचण्ड प्रधानमन्त्री बन्नमा नारायणकाजीका कारण विलम्ब
अप्रत्यासित अड्चन पैदा नभएमा बजेट प्रस्तुत गरिनुभन्दा धेरै पहिले नै सरकार परिवर्तन हुने निश्चित भएको छ ।
खड्गप्रसाद नेतृत्वको सरकारले मुलुकमा तनाव बढाएको, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गरी जनजीवन सहज बनाउन नसकेको, छिमेकी मित्रराष्ट्र भारतसँगको मित्रवत् सम्बन्धमा क्षति पुर्याई तनाव पैदा गराएको र सानातिना समस्या समाधान गर्न असमर्थ सरकारका प्रमुखले ‘हावादारी गफ’ दिएर जनतालाई अलमल्याउने गरेको महसुस आमदेशवासीले गरेका छन् ।
यसैबीच न्यायाधीशहरूको नियुक्ति र राजदूतहरूको नियुक्ति सिफारिस गर्दा मनोमानी गरेकोले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस प्रधानमन्त्री ओलीसँग थप असन्तुष्ट बनेको छ । सरकारलाई रचनात्मक सहयोग गर्ने, तर सत्तामा जान हतार नगर्ने सोचमा रहेको कांग्रेस नेतृत्वलाई न्यायाधीश र राजदूत नियुक्ति प्रकरणले निकै क्रूद्ध बनाएको छ ।
त्यसैले नेपाली कांग्रेस वर्तमान सरकारलाई तत्कालै बिदा गर्नुपर्ने निष्कर्षमा पुगेको छ । पहिले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्छ भन्ने पक्षमा रहेको कांग्रेस अब अरू कसैलाई नेतृत्व दिएर भए पनि खड्गप्रसाद ओलीलाई पदमुक्त गर्न कटिबद्ध बनेको छ । एमाओवादी अध्यक्ष प्रचण्ड सरकारको नेतृत्व लिन इच्छुक भएकोले उहाँलाई नै प्रधानमन्त्री बनाएर भए पनि नयाँ सरकार गठन गर्न कांग्रेस राजी भएको छ । सरकार परिवर्तनसम्बन्धी विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष प्रचण्डबीच यसै साता केही चरण बैठक तथा छलफल पनि भइसकेको बुझिएको छ ।
दुई प्रमुख नेताबीच ओली नेतृत्वलाई तत्कालै विस्थापित गर्ने र नयाँ सरकारको स्वरूप र कार्यढाँचाबारे छलफल भएको बताइएको छ । नेताहरू वर्तमान सरकारले संसद्मा बजेट पेस गर्नु अगावै ओलीलाई पदमुक्त गर्न सहमत भएको पनि सम्बद्ध सूत्रहरूबाट थाहा भएको छ । दुई नेताहरूबीच छलफल हुनुअघि गत बिहीबार (वैशाख १६) एमाओवादी स्थायी समितिको बैठकमा सरकार छोड्ने–नछोड्ने विषयमा गम्भीर ढङ्गले छलफल भएको थियो । अध्यक्ष प्रचण्डले ओलीको कार्यशैली उचित नभएको, देशका समस्या समाधानमा सरकार उदासीन रहेको बताउँदै माओवादीविरुद्ध मुद्दा–मामिला लगाउन प्रधानमन्त्री आफैँ अग्रसर बनेको जानकारी बैठकलाई गराउनुभएको थियो ।
अर्का नेता कृष्णबहादुर महराले एमालेसँग जाँदा एमाओवादी सकिने स्थिति रहेको भन्दै एमाओवादीको रक्षाका निम्ति पनि कांग्रेससँग सहमति गरेर नयाँ सरकार गठन गर्नुपर्ने धारणा प्रकट गर्नुभएको थियो । मन्त्री अग्नि सापकोटाले सरकारमा एमालेसँग टाँसिएर बस्न नसकिने र बस्न नहुने बताएका थिए भने गृहमन्त्री शक्ति बस्नेतले सरकार छोड्नु उपयुक्त नहुने भन्दै सुरक्षा निकायको हवाला दिएर वर्तमान सरकार विस्थापित हुँदा राजाको सक्रियता बढ्ने, तराईमा सीके राउतका गतिविधिमा तीव्रता आउने र अन्तत: देश नै टुक्रिन सक्ने सम्भावना दर्शाएका थिए । बस्नेतलाई जवाफ फर्काउँदै गोपाल किराँतीले संसारका सबै गृहमन्त्री शङ्कालु हुन्छन् र सबै अर्थमन्त्रीहरू कञ्जुस हुन्छन् भनेका थिए ।
स्थायी समितिमा अधिकांश नेताहरू सरकार परिवर्तनको पक्षमा रहेको पाइएपछि प्रचण्ड सरकार छोड्ने निर्णयमा पुग्नुभएको बुझिएको छ । तर, ओलीलाई विस्थापित गरेपछि बन्ने सरकारको नेतृत्व आफैँले गर्न पाउने सुनिश्चितता नभई सरकार छोड्ने मानसिकतामा प्रचण्ड हुनुभएन । अहिले प्रचण्डलाई सरकारको नेतृत्व दिन कांग्रेस र अन्य शक्तिकेन्द्रहरू तयार भइसकेका छन् ।
त्यसैले आगामी थोरै दिनभित्रै सरकार ढल्ने सम्भावना बढेको हो । आगामी कुनै पनि घन्टामा एमाओवादी सरकारबाट बाहिरिने स्थिति बनेको छ । तर, एमाओवादी उपाध्यक्ष नाराणयणकाजी श्रेष्ठले तत्काल सरकारबाट बाहिरिनुअघि धेरै कुरामा विचार पुर्याउनुपर्छ भनी अध्यक्ष प्रचण्डलाई अलमल्याउनुभएको बताइन्छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ वर्तमान वामपन्थी सत्ता गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ र प्रचण्डलाई तत्काल प्रधानमन्त्री बनाउन खड्गप्रसाद ओली राजी भएमा कांग्रेससँग गठबन्धन नगर्ने सोच उहाँको छ । त्यस्तै विदेशीहरूको ‘गेमप्लान’ के छ भन्ने बुझेर मात्र पाइला चाल्नुपर्ने सुझाव पनि श्रेष्ठले प्रचण्डलाई दिनुभएको बताइन्छ । श्रेष्ठकै आग्रहमा मंगलबार साँझ एमाले नेताहरूसँग एमाओवादी नेतृत्व पङ्क्तिको विशेष बैठक राखिएको थियो । श्रेष्ठले नरोकेको भए यसै साता ओली सरकारले बिदा लिने निश्चित भइसकेको थियो । घटना र विचार साप्ताहिकमा खबर छ ।


0 comments
Write Down Your Responses