छोरा, घर कहिले आउँछौ ?
असार ६ – ‘कहिले हो उहाँ विदेश जानुभएको ?’ यो प्रश्न गर्ने वित्तिकै गिरीजा थापा र उहाँका श्रीमान जितबहादुरले एक अर्कालाई हेर्दै भन्नुभयो ‘खै गएको ठ्याक्कै वर्ष त बिर्सिनै सकेछौँ ।’छोरा कहाँ छौ ? घर नआउने हो र ? कोहि पुग्यो कि सुनसरीको इनरुवा-७ मगर टोलकी गिरिजा थापा मगर छोरालाई यही खबर सुनाउन खोज्नुहुन्छ । तर न आमाको खबर छोराले सुन्छन न त खबर कसैले उहाँका छोरासम्म पुर्याइदिन नै सक्छ ।
छोरा सन्तोष ६२ सालमा हो कि ६३ मा हो विदेश गएको त्यो पनि बिर्सिसक्नुभयो आमाबुवाले । मलेसिया गएका सन्तोष किङ्स कन्फेक्सनरी, तमान, केफोन कम्पनीमा काम गर्नुहुन्थ्यो । चार वर्षसम्म घरमा फोन पनि हुन्थ्यो । महिनामा ४ सय ८० रिंगिट कमाउने सन्तोषले घरमा पैसा चाहिँ पठाउनुभएको थिएन । चार वर्षपछि सन्तोष एकाएक सम्पर्कविहीन हुनुभयो । ‘कहाँ गयो केहि पत्तै नपाएपछि खोज्ने मेलो पनि नपाएर के गर्ने के गर्ने भनेर बस्यौँ’ गिरिजा भन्नुहुन्छ ।
त्यसको एक वर्षमा सन्तोषले फोन गर्नुभयो ।
एक वर्ष हराएको छोराले फोन गर्दा भएको खुसी को सीमा थिएन गिरीजासँग । तर फोनमा घर फर्किने होइन कम्पनीले घर जान टिकट दिएपनि आफू टिकट च्यातेर एयरपोर्टबाटै भागेको जानकारी गराउनुभयो बुवाआमालाई । त्यसपछि फेरि सम्पर्क विहीन हुनुभयो । त्यसको चार वर्षसम्म सम्पर्क विहीन भएका सन्तोषले गएको वर्षको दसैँभन्दा अघि फोन गर्नुभयो तर घर आउन पैसा नभएकाले नआएको हो भन्नुभयो ।
छोरासँग आउने खर्च रहेनछ भन्ने थाहा पाएपछि परिवारले त्यहाँको एक हजार रुपैयाँ पैसा पनि पठाइदिए । मलेसियामै भएका छिमेकीको परिवारलाई सन्तोषको परिवारले पैसा बुझाए अनि ती छिमेकीले सन्तोषलाई भेटरै पैसा दिए । तर पैसा पाइसकेपछि सन्तोष घर फर्किनुभएन फेरि सम्पर्क विहीन हुनुभयो । गिरिजाले भन्नुभयो ‘त्यसपछि के भयो अहिलेसम्म थाहा छैन ।’
सन्तोषका बुवा जितबहादुर क्षयरोगको बिरामी हुनुहुन्छ । सन्तोष गएको तीन वर्ष पुगेपछि उहाँलाई बिरामले निक्कै च्याप्यो । त्यसैले कतारमा रहेको सन्तोषका भाइ घर आउनुभयो । झण्डै दुई महिना घर बसेर फर्किंदा पनि सन्तोष घर आएनन् । उल्टै पैसा छैन भन्नुभयो ।
त्यसैले भाइले पनि पैसा पठाइदिनुभएको थियो फर्किनलाई तर सन्तोष फर्किनुभएन ।
छोरा हराउँदाको चिन्ताले सताएका मगर दम्पतिलाई छोरो घर आउन नखोज्नुको कारण के होला भन्ने कुराले छक्क पारेको छ । सन्तोष किन फर्किएनन त ? यो प्रश्नमा बुवाआमा दुवै जनाको उत्तर अनुमानमा आउँछ । ‘जेल पर्यो कि बिरामी भयो कि के भयो केहि थाहा छैन’ बुवा जितबहादु भन्नुहुन्छ । फेरि आमाको अनुमान अर्कै छ । उहाँ भन्नुहुन्छ ‘मलेसिया गएकाहरु धेरैले उतै बिहे गरेर पनि बस्छन भने बा त्यसले पनि उतैको केहि पो बिहे गर्यो की ?’
अड्कल जे गरेपनि गिरीजाको मनमा छोरो आइदियोस आशा मरेको छैन । बुवालाई त कहिलेकाहिँ पैसा पठाइदिँदा पनि नआएको छोरो नआओस के गर्नु त जस्तो पनि लाग्छ तर आमाको मन मान्दैन ।
‘जे गर्दा पनि त्यसै याद आउँछ’ छोराको यादको कुरा सुनाउन नपाउँदै गिरीजाका आँखा भरिए । आमा रुँदै उठेपछि बुवा जितबहादुरले छोरालाई आग्रह गर्नुभयो ‘आमासँगै हामीलाई यसरी नरुवा जहाँ छस फर्केर आइज ।’
छोरालाई खोज्ने आफूहरुको प्रयास सफल नभएपछि सन्तोषका बुवाआमा इनरुवामा रहेको सूचना केन्द्रमा पनि आउनुभयो । उहाँहरुले छोरा खोजिदिन आग्रह गर्दै निवेदन पनि दिनुभएको छ । तर सम्पर्क गर्ने कुनै माध्यम नभएकाले अहिलेसम्म केहि गर्न नसकिएको केन्द्रले जनाएको छ ।


0 comments
Write Down Your Responses