अफगानिस्तानबाट फर्केका प्रेमबहादुर तामाङ बयान: तालिबानले पहिलेदेखि नै सुरक्षा थ्रेट दिइरहेको रहेछ । यो कुरा कम्पनीले हामीसँग लुकायो ।

तालिबानले पहिलेदेखि नै सुरक्षा थ्रेट दिइरहेको रहेछ । यो कुरा कम्पनीले हामीसँग लुकायो । सुरक्षा प्रवन्ध पनि केही गरेन । हामीले बेलाबेलामा सुरक्षाको माग गर्थेउँ तर कहिल्यै सुनवाई गरेनन् । मेरो घर नुवाकोटको त्रिशुलीमा छ । परिवारमा एउटा छोरा, एउटी छोरी र श्रीमती छन् । 

पहिले रोजगारीका लागि अरब गएको थिएँ । त्यहाँबाट फर्केपछि कुनै काम भएन । त्यसपछि अफगानिस्तान पठाउने एजेन्ट देवीरामलाई भेटेँ । त्यहाँ असुरक्षा छ भन्ने थाहा थियो । तर कमाई राम्रै हुने भनेपछि जोखिम मोलेर गएँ । म २०१२ मा अफगानिस्तान गएको हुँ । जाँदा करिब साढे तीन लाख खर्च भएको थियो । काबुलमा रहेको क्यानेडियन एम्बेसीको सुरक्षामा अरु नेपालीहरुसँगै म खटिएँ । एम्बेसीबाट करिब ३ किलोमिटरको दुरीमा हामी बस्ने लज थियो । त्यहाँबाट बिमानस्थलसम्म सामान्य बसमा ओहोरदोहार गराइन्थ्यो । 

त्यतिबेला हामीलार्इ सुरक्षित महसुस हुन्थ्यो । एम्बेसीमा काम गर्दा असुरक्षा थिएन, तर लजमा बस्दा र बसमा ओहोरदोहार गर्दा ९५ प्रतिशत असुरक्षा थियो । हाम्रो तलव मासिक ९ सय ५० डलर हुन्थ्यो । अरु सुविधा केही थिएन । ड्युटी आवर आठ घन्टा हो । लजबाट हामी बाहिर निस्कन पाउँदैन थियौं । हाम्रो संसार भनेकै कि लज र कि एम्बेसी थियो । त्यसबाहेक बसमा हिँड्दा बाहिर जति देखिन्थ्यो त्यही हो । हामी एक दिन पनि बाहिर घुमेर हिँड्न पाउदैनथ्यौं । 

 विष्फोट हुँदा म ड्यूटीमा थिएँ । ड्याम्म आवाज आएको सुनियो । कता विष्फोट भयो भन्ने भयो । विष्फोटको आवाज त्यहाँ हाम्रो लागि नौलो थिएन । बेलाबेलामा नेपालीहरु पनि त्यसमा पर्थे । तर, यसपटक नेपालीहरु चढेकै बसमा विष्फोट भएछ । मेरो ड्यूटी ६ बजेसम्म थियो । ५ः२० तिर हानेछन् । त्यसपछि हामी बाहिर निस्कन सकेनौं । केही घन्टा त्यहीँ बितायौं । त्यसपछि आर्मोर्ड भेइकलबाट हामीलाई लजमा पुर्‍याइयो । 

एम्बेसीले केही दिनलाई आर्मोर्ड भेइकलको व्यवस्था मिलाएको छ । विष्फोटमा मेरो दाइ (ठुलोबाको छोरा) लिलबहादुर गुरुङ पनि पर्नुभएछ । अरु पनि मिल्ने साथीहरु थिए । साह्रै अत्यास लाग्यो । काम गर्न सक्ने अवस्था भएन । त्यसैले नेपाल फर्किने सोच बनाए । नेपालको सरकारले हामीलाई जहाजबाट ल्याउने व्यवस्था मिलायो । सरकारलाई धेरै धन्यवाद छ । आउँदा हामीले काम गरेको २० दिनको तलव छोड्नुपर्‍यो । जे होस आफ्नो देश फर्किन पाएकोमा खुशी छु । तर, यहाँ लामो समय बस्न सक्दिन होला । यहाँ काम पाइँदैन । अब सुरक्षित ठाउँ खोजेर जान्छु । अफगानिस्तानबाट फर्केका प्रेमबहादुर तामाङ बयान

, ,

0 comments

Write Down Your Responses