IPL- वार्नर गरे कमाल, हैदरावाद पुग्यो फाइनलमा !
जेठ १५ – शुक्रबार राति दिल्लीमा भएको दोस्रो क्वालिफाएरमा गुजरात लाइन्सलाई चार विकेटले हराएर हैदरावादले फाइनलमा स्थान बनाएको छ ।इन्डियन प्रिमियर लिग आइपिएलको यो संस्करणको उपाधिका लागि रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुने भएको छ । ।
गुजरातले प्रस्तुत गरेको एक सय ६३ रनको लक्ष्य हैदरावादले १९ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । हैदरावादको जितमा कप्तान डेविड वार्नर नायक बने । उनले ८४ रन बनाउँदा पाँच विकेट गुमाएको टिमको पारी सम्हालेर जित दिलाए । वार्नर ५८ बलमा ११ चौका र तीन छक्काको मद्दतमा ९३ रनमा नटआउट रहे । यस्तै मोइसिस हेनरिक्सले ६ बलमा ११ तथा नमन ओझाले ८ बलमा १० रन बनाए । गुजरातका डवेन ब्राभो र शिविल कौशिकले दुई दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले सात विकेटको क्षतिमा एक सय ६२ रन बनायो । उसका लागि एरोन फिन्चले ३२ बलमा ५०, ब्रेण्डम म्याकुलमले २९ बलमा ३२ तथा दिनेश कार्तिकले १९ बलमा २६ रन बनाएपनि हार टार्न सकेनन् । हैदरावादका भुवनेश्वर कुमार र बेन कटिङले दुई दुई विकेट लिए । हारसँगै गुजरातले फाइनलमा पुग्ने दोस्रो मौका पनि गुमायो । पहिलो क्वालिफाएरमा पराजित भएर गुजरात एलिमिनेटरको विजेता हैदरावादसँग दोस्रो क्वालिफाएर खेलेको थियो । पहिलो क्वालिफाएरमा गुजरातलाई हराएको बैंग्लोर र दोस्रो क्वालिफाएरको विजेता हैदरावादबिच आइतबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।
– एजेन्सीको सहयोगमा


0 comments
Write Down Your Responses