एक किलो बोकाको मासुलाई ४ हजार,हाम्रै नेपालमा !

बोकाको एक किलो मासुको मूल्य कति ? रु ५००, ६०० वा ८०० । ठाउँ अनुसार फरक÷फरक मूल्य पर्ला । तर चितवनमा एक किलो मासुको मूल्य झन्डै चार हजार पर्छ भन्दा तपाई आश्चर्य मान्नुहुन्छ होला । तीन हजार ७५० मा त किनबेच नै भइसक्यो । पश्चिम चितवनको जगतपुरबाट नुवाकोटका अमृत तिवारीले एउटा ८० किलोको प्योर बोयर (क्रस नगरेको शुद्ध बोयर) जातको बोकालाई रु तीन लाखमा खरिद गरेर लगे । उनले अझै केही बाख्राको समेत माग गरेका छन । काठमाडौँका कल्पदीप राईले ८२ किलोको बोका रु तीन लाख नौ हजार बुझाएर लगे । ‘म सँग एउटा बोका छ, त्यसलाई रु नौ लाख दिँदा पनि दिएको छैन,’ जगतपुरका बाख्रापालक किसान योगेन्द्रबहादुर खड्काले भने– ‘यो बोका ब्याडका लागि राखेको छु ।’ ९५ किलोको उनीसँग भएको त्यो बोकाको लागत मूल्य करिव रु ५ लाख छ । यो एउटा उदाहरण मात्रै हुन् । अलि ठूला बोकाको मूल्य प्रतिकिलो रु ६ हजारसम्म पर्ने जगतपुरमा बोयर जातका बाख्रा पाल्दै आएका व्यवसायी खड्काले बताए । यो दुईवटा बोका अलि सस्तोमा बेचिदिएको उनको भनाइ छ । 

 ‘एकसय प्रतिशत प्योर बोयर बोकाको प्रतिकिलो मूल्य रु पाँच हजार पर्छ, ग्रेड छुट्याएर राखिएको सबैभन्दा राम्रो बोकाको प्रतिकिलो रु ६ हजारभन्दा बढी पर्छ,’ खड्काले भने । विसं २०७० देखि चितवन सदरमुकाम भरतपुरबाट २० किमी पश्चिम जगतपुरमा खड्काले ‘जगतपुर एग्रो प्रालि’ सञ्चालन गरेका छन । दक्षिण अफ्रिकाबाट उनले बोयर जातको बाख्रा ल्याएर व्यावसायिक बाख्रापालन थालेका हुन् । ् ‘अहिलेसम्म बीउ उत्पादनमै ठिक्क छ,’ खड्काले भने, ‘पछि फस्टाउँदै जाँदा भने अन्य खसीबोका सरह मासु दिन सकिन्छ होला ।’ यो जातको बाख्रा छिटो बढ्ने र तौल राम्रो हुने भएकाले व्यावसायिक भएपछि भने लोकल खसी बाख्राको मूल्यमा दिन सकिने सम्भावना रहेको उनी बताउछन । 

 अहिले उनले बीउ उत्पादनकै लागि बोबा बाख्रा बेचिरहेका छन । दक्षिण अफिकाबाट ल्याएर यो जातको बाख्रा पाल्ने आफू नै पहिलो भएको दाबी गर्ने खड्काले अहिले करिब रु दुई करोड लगानीमा बाख्रापालन थालेको बताए । सुरुमा उनले १७ वटा प्योर बोयर जातका बोका बाख्रा दक्षिण अफ्रिकाबाट ल्याए । चारवटा बोकालाई रु १३ लाख र १३ वटा अन्य बाख्रा ल्याउँदा रु ३९ लाख लाग्यो । खड्काले यो वर्ष अझै नयाँ ५० वटा ल्याउन लाग्नुभएको छ । बाख्रा ल्याउँदा भाडा नै एउटा बोकाको ७० हजार लागेको स्मरण सुनाउँदै उनले १० प्रतिशत भ्याटलगायत पैसा तिर्नुपरेको बताए । मुख्यगरी यो जातका बाख्रामा बोसो कम हुने, तौल चाँडो बढ्ने, खाँदा मासुपनि राम्रो हुने भएकाले अरु भन्दा फरक भएको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा. रामकुमार कार्की बताउछन । सरकराले ल्याएको सहुलियत ब्याजको रु एक करोड रकम ल्याएर खड्काले यहाँ व्यवसाय सुरु गर्नुभएको छ । 

हाल खोरमा १७४ वटा बोका र बाख्रा छन् । छ बिगाहा क्षेत्रमा चरनसमेत गरिएको छ । घाँसपालन पनि छ । व्यवस्थित खोरमा पालिएका छन् बाख्रा । उनले अहिलेसम्म रु १९ लाखको मात्रै बेच्न पाएका छन । काटेर खान अहिलेसम्म उत्पादन गराउन नसकेको यो बाख्रापालन अहिले विभिन्न जिल्लामा सुरु भएको डा कार्की बताउछन । जमुनापारी बाख्राको व्यावसायिक पालन भने चितवनको पहाडी क्षेत्रमा फस्टाएको छ । विपन्न समुदाय र विशेष गरी चेपाङहरुले त्यस्ता बाख्रा पालेका छन् । तर बोयर जातको भने पालन न्यून छ । यसरी बढ्छ तौल सामान्य गाउँघरमा पालिएका बाख्रा एक दिनमा करिब ३५ देखि ४० ग्रामसम्म बढ्छ । तर बोयर जातको बाख्रा उही खानामा एक दिनमा क्रस गरिएका बोका १५० देखि २०० ग्राम र प्योर बोयर ४०० ग्रामसम्म बढ्ने खड्का बताउछन । दुई महिनामै १८ देखि २२ किलोसम्म आफ्नै खोरमा उत्पादन भएको उनको दाबी छ ।

 हेर्दा सानो देखिन्छ तर तौल धेरै हुन्छ । यसका खुट्टा छोटा हुने भएकाले साना देखिने गरेको स्थानीय पशुपालक व्यवसायी भागिरथ तिमिल्सिना बताउछन । अहिले उनको खोरमा एउटा ९५ किलोको बोका छ । उक्त बोकालाई रु नौ लाख दिँदा समेत नदिएको खड्का बताउछन । ‘ग्राहक धेरै आउन थाले बीउ नै पु¥याउन सकेको छैन,’ खड्का भन्छन्, 'त्यो बोका ब्याडका लागि हो । सबैले आँखा लगाउँछन् । हेर्दै सलक्क परेको बोका छ ।' विसं २०६५ देखि नै यो जातको बाख्रापालन सुरु भएको हो । झापा, स्याङजा, रामेछाप, चितवनलगायत जिल्लामा यो जातका बाख्रा पाल्न थालिएको छ । तनहुँको बन्दीपुरमा सरकारी क्षेत्रकै स्रोत केन्द्रमा समेत यो बाख्रा छन् र अनुसन्धान भइरहेको छ । म्याग्दीमा जन्मेर काठमाडौँमा हुर्केका खड्का १० वर्ष निर्माण व्यवसायी बने । मार्सल आर्टका कुशल खेलाडी उनले खेल्न विदेश जाँदा आफूले देखेकालाई यहाँ व्यवहारमा उतारेको बताउछन । 

,

0 comments

Write Down Your Responses