बायोडाटा बनाउँदा भुलेर पनि नगर्नुस् यी ५ गल्ती, नत्र पहिलो प्रभाव नै पर्ला गलत...
एजेन्सी । हालै गरिएको अनुसन्धानमा पत्ता लागेको छ कि जागिरको खोजीमा रहेका ५७ प्रतिशत उम्मेद्वार बायोडाटामा हुने गल्तीका कारण नै जागिर पाउनबाट बञ्चित हुने गरेका छन् ।
त्यसैले यदि तपाईं पनि जागिरको खोजीमा हुनुहुन्छ भने बायोडाटा बनाउँदा निकै ख्याल गर्नुहोस् । उम्मेद्वारहरुले आफ्नो उद्देश्य र क्षमताबारे उल्लेख गर्ने क्रममा सबैभन्दा धेरै गल्ती गर्ने गरेका छन् ।
यसैक्रममा आज हामी यस्ता ५ वटा गल्तीबारे जानकारी दिँदैछौं, जुन प्रायले गर्ने गरेका छन् ।
१. भाषा र कम्प्युटरमा उत्कृष्ट
बायोडाटा बनाउँदै गर्दा अधिकांशलाई एउटा बानी नै लागिसकेको छ । फ्याट्टै लेखिहाल्छन्, ‘अंग्रेजी, नेपाली, हिन्दी …’ भाषामा उत्कृष्ट छु । कम्प्युटर निकै राम्रो चलाउँछु ।’ बायोडाटामा आफ्नो क्षमताबारे उल्लेख गर्नु राम्रो हो । तर, बढाई-चढाई गरिने यस्तो कुराले कसैका लागि पनि राम्रो गर्दैन ।
२. दवावमा पनि राम्रो काम गर्नसक्छु
यस्तो भन्दैमा कुनै पनि रोजगारदाताले ‘हामी तपाईंजस्तै स्टाफको खोजीमा थियौं’ भनेर आँखा चिम्लिएर जागिर दिनेवाला छैन । उल्टो गलत इम्प्रेशन पार्न सक्छ । त्यसैले हमेशा सोचेर लेख्नुहोस् । आफ्नो कामप्रति इमान्दार हुने कुनै पनि मानिसले दवावमा राम्रो काम गर्न सक्दैन । जो कामचोर छ, उसले नै दवाव र डरधम्कीको बीचमा साविककोभन्दा बढी काम गर्छ ।
त्यसैले सुरुमै आफ्नो इम्प्रेशन खराब पार्ने काम नगर्नुस् ।
३. टिममा काम गर्न सक्षम छु
रोजगारदातासामु जति पनि बायोडाटा आएका हुन्छन्, तिमध्ये अधिकांशमा यही कुरा लेखिएको हुन्छ । यो देख्दा-देख्दा उनीहरु दिक्क भइसकेका हुन्छन् । यदि तपाईंसँग साँच्चै यस्तो क्षमता छ भने राम्रो कुरा हो । तर, ‘परीक्षामा एउटा चिटरले अरुको सार्दा कपीमा झिंगा टाँसिएको देखेर आफूले पनि झिंगा मारेर टाँसेको’ भन्ने नेपाली किस्साजस्तै कपी गरेर बनाएको बायोडाटाले कहिले पनि राम्रो इम्प्रेशन पार्दैन ।
४. निकै मिहेनती छु
‘म एकदमै मिहनेनती छु’ भनेर आफैँ भनिराख्नु राम्रो होइन । यदि साँच्चै मिहेनती हुनुहुन्छ भने तपाईंको एप्लिकेशन, कार्यअनुभव र शैक्षिक योग्यताको प्रमाणपत्रहरुले नै संकेत गरिरहेको हुन्छ । तपाईंको लेखाई र त्यसमा गरिएको शब्द प्रयोगले पनि तपाईंको व्यक्तित्व झल्काइरहेको हुन्छ । त्यसमाथि पनि तपाईं कस्तो हुनुहुन्छ भनेर अरुले मूल्याङ्कन गर्ने हो । मपाईं भन्नु राम्रो होइन ।
५. जस्तोसुकै जोखिमको सामना गर्न सक्छु
प्राय रोजगारदाता बायोडाटामा यस्तो कुरा देख्न मन पराउँदैनन् । जब तपाईंसँग आफ्नो कुरालाई सावित गर्ने भ्यालिड पोइन्ट्स नै छैन भने भूलेर पनि यस्तो नलेख्नुहोस् । कुनै पनि संकटको सामना गर्न सक्छु लेखेर आफूलाई संकटमा नपार्नु नै बेस ।


0 comments
Write Down Your Responses