ज्योति र सुनिताले धरान सडकमा भेटिएको १२ लाख फिर्ता गरे
चारकोसे जङ्गलको विश्वकर्मा मन्दिरभन्दा एक किलोमिटर तलको सडकमा मोटरसाइकल दुर्घटनापछि हराएको १२ लाख रुपैयाँको ब्याग भेटेका दुबैजनाले सम्बन्धित व्यक्तिको खोजि गरी शनिबार उक्त रकम बुझाएपछि धरानमा दुबैजनाको चर्चा चुलिएको हो । वैशाख १६ गते साँझ ट्याम्पोसँग ठक्कर खाएपछि धरान–१७ का ओमबहादुर गेलालको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनाबाट उनको मृत्यु भइसकेको छ । गेललासँगै रहेका मोटरसाइल चालक विनोद दियाली भने गम्भीर घाइते भएका छन् । ज्योति र सुनिताले इमान्दारीका साथ सडकमा भेटिएको १२ लाख रुपैयाँ ओमबहादुरका बाबु दलबहादुरलाई एक कार्यक्रमको आयोजना गरी फिर्ता गरे । दुर्घटनाको समयमा उनीहरुले फेला पारेको रकम धरान–१५ का टीका पाख्रिनको मद्दतमा सम्बन्धित व्यक्तिको पहिचान गरी फिर्ता गरिएको ज्योति र सुनिताले बताए । ‘हामी इटहरीबाट धरान फर्किदै थियौं । त्यो बेला दुर्घटना भएको रहेछ । सडकमा बेवारिसे अवस्थाको ब्याग घरमा ल्याएर हेर्दा त १२ लाख रुपैयाँ रहेछ’, ज्योतिले भनिन्, ‘भेटेको रकम सम्बन्धित व्यक्तिलाई भेटेर दिँदा भलो हुने सोचेर दुबैजनाले सल्लाह गरी टीका दाइको मद्दतमा आफन्तलाई फर्काएका हौं ।’इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले सडकमा भेटिएको १२ लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई फिर्ता दिएर ज्योति र सुनिताले समाजमा उदाहरणीय काम गरेको बताए । उनले दुबैजनाको उक्त कामलाई समाजले उच्च प्रसंशा गर्दै उनीहरुबाट सबैले पाठ सिक्न जरुरी रहेको बताए । कांग्रेस धरानका नेता नारद राईले पनि ज्योति र सुनिता जस्ता चेलीहरुको यो कामको सबैले प्रसंशा गर्नुपर्ने बताए । दुर्घटनामा ज्यान गुमाएका ओमबहादुरका बाबु दलबहादुरले दुर्घटनामा छोराको मृत्यु भए पनि ज्योति र सुनिताले दुखद घडीमा केही सान्त्वना दिएको बताए ।


0 comments
Write Down Your Responses