कनकमणि दीक्षित अख्तियारबाट पक्राउ

काठमाडौंः  हिमाल खबरपत्रिकका प्रकाशक दीक्षितलाई अख्तियारको टोलीले साझा यातायात प्रालिका अध्यक्षको हैसियतले पक्राउ गरेको अख्तियारले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई शुक्रबार पाटनढोकास्थित उनकै कार्यालयबाट पक्राउ गरेको छ।  'दीक्षितलाई गैर कानूनी सम्पत्ति आर्जन गरेको भ्रष्टाचारको कसुरको अभियोगमा अनुसन्धान गर्नका लागि पक्राउ गरेका हौं', अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले अन्नपूर्ण अनलाइनसँग भने।दीक्षितलाई पक्राउ गरेपछि अख्तियारले जारी गरेको विज्ञप्तिमा साझा यातायातको अध्यक्षको हैसियतले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको, आर्थिक हिनामिना गरी स्वदेशी तथा विदेशी विभिन्न बैंकमा आफू र आफ्नो परिवारको नाममा रकम जम्मा गरेको, संस्थाको सम्पत्तिलाई पैत्रिकसरह बेचबिखन गरेकोलगायत आरोप छन्।
त्यसरी बेचबिखन प्राप्त रकम निजी सम्पत्तिसरह अन्यत्र संस्थामा लगानी गरेको र निजका परिवारमा समेत राखेको, अमेरिकामा आफ्नो नाममा घरजग्गा खरिद गरेको उजुरी परेकोसमेत अख्तियारले जारी गरेको विज्ञप्तिमा छ। अख्तियारले मदनशमशेर राणा र उनकी श्रीमती जगदम्बाको नाममा रहेको चलअचल सम्पत्ति गैरकानुनी रूपमा आफ्नो नाममा नामसारी गरेको उजुरी परेकोसमेत अख्तियारले उल्लेख गरेको छ।अख्तियारले कानूनी प्रक्रिया नमिलाइ सम्पत्ति विवरण माग्दा दीक्षितले यसअघि सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।दीक्षितले हालेको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले अख्तियारलाई आयोगलाई कानुनको अख्तियारी र प्रयोजन नखुलाई कसैलाई अनुसन्धानको नाममा कारवाही गर्न नमिल्ने' जनाएको थियो। अख्तियारले यसबारे छानबिन गर्न पटकपटक सम्पर्क गर्दा दीक्षित उपस्थित नभएको उल्लेख गर्दै कानुनविपरीत आचरण र अनुसन्धान कार्यमा बाधा पुर्‍याएका कारण उनलाई पक्राउ गरिएको उल्लेख गरेको छ।
 

0 comments

Write Down Your Responses